काठमाडौँमा भएको एक दुखद पारिवारिक विवादमा नेपाली सेनामा कार्यरत एक महिलाको ज्यान गएको छ। तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारमा भएको उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतकका श्रीमान्सहित चार जनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा ‘नेपाली ब्रो’ नामले चिनिने र आफूलाई व्यावसायिक रेस्लर (प्रो रेस्लर) दाबी गर्ने ४२ वर्षीय कुमार थापा रहेका छन्। उनले घरायसी झगडाका क्रममा आफ्नी ४२ वर्षीया श्रीमती ईश्वरी भुजेलमाथि फलामको रडले प्रहार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
घटनाको विवरण
शुक्रबार राति करिब १०:१० बजे भएको उक्त आक्रमणबाट भुजेल गम्भीर घाइते भएकी थिइन्। उनलाई तत्काल उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टीचिंग) पुर्याइएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको हो।
अन्य तीन जना पनि हिरासतमा
जिल्ला प्रहरी परिसर, काठमाडौँका एसपी पवन भट्टराईका अनुसार उक्त घटनामा किटानी जाहेरी परेपछि श्रीमान् थापासहित अन्य तीन जनालाई पनि पक्राउ गरिएको छ। पक्राउ पर्ने अन्य व्यक्तिहरूमा:
-
विक्रम थापा मगर (३६ वर्ष, घर: नुवाकोट)
-
पुजन थापा क्षेत्री (४० वर्ष, बस्ने: बालाजु)
-
प्रतिक्षा आचार्य (२५ वर्ष, घर: जुम्ला, हाल बस्ने: गोकर्णेश्वर)
पक्राउ परेका चारै जनालाई अदालतबाट ५ दिनको म्याद थप गरी हिरासतमा राखिएको छ र घटनाको थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।


तपाईंको विचार लेख्नुहोस्
० कमेन्ट
Facebook प्रतिक्रिया