नुवाकोट _ भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले खाद्यान्न सामग्री सहयोग गरेको छ।
मण्डलीले विदुरस्थित जिल्ला प्रशासन कार्यालयमार्फत बाढी प्रभावित समुदायका लागि ठूलो परिमाणमा खाद्यान्न उपलब्ध गराएको हो। सहयोगअन्तर्गत १५ हजार २५० किलो चामल, ६ हजार १२५ किलो दाल र २ हजार लिटर खाने तेल हस्तान्तरण गरिएको जनाइएको छ।
खाद्यान्न हस्तान्तरण कार्यक्रममा जिल्ला प्रशासन कार्यालय नुवाकोटका प्रशासकीय अधिकृत होमनाथ दाहालले विपद्का कारण प्रभावित परिवारलाई खाद्यान्नको आवश्यकता रहेका बेला प्राप्त सहयोग महत्वपूर्ण भएको बताए। दशैंको समयमा खाद्यान्नको आवश्यकता अझ बढ्ने भएकाले सहयोग उपयुक्त समयमा आएको उनको भनाइ थियो।
उनले राहत सामग्री लिएर नुवाकोटसम्म आएकोमा परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका सदस्यहरूप्रति धन्यवाद व्यक्त गर्दै प्रभावित नागरिकलाई राहत पुर्याउने कार्यमा सहयोग महत्वपूर्ण हुने बताए।
कार्यक्रममा पूर्वाधार विकास कार्यालय नुवाकोटका इन्जिनियर रविन खातीले बाढी प्रभावित क्षेत्रमा खाद्यान्न अभाव देखिएको अवस्थामा प्राप्त सहयोगले प्रभावित परिवारलाई केही राहत पुग्ने बताए। उनले विपद्को कठिन परिस्थितिमा खाद्यान्न सहयोग उपलब्ध गराएकोमा मण्डलीप्रति आभार व्यक्त गरे।
त्यस्तै, विदुर नगरपालिका–४ का वडाध्यक्ष निलमबाबु ढुङ्गेलले विपद्को सुरुवाती चरणमा विभिन्न क्षेत्रबाट राहत आए पनि पछिल्लो समय दाताको संख्या घट्दा खाद्यान्न व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको बताए। यस्तो अवस्थामा प्राप्त खाद्यान्न सहयोगले प्रभावित समुदायलाई प्रत्यक्ष राहत पुग्ने उनको भनाइ थियो।
उनले आपत्कालीन अवस्थाबाहेक आगामी दिनमा पनि समुदायको आवश्यकताअनुसार सहयोग र सहकार्य जारी रहने अपेक्षा व्यक्त गर्दै स्थानीय तहका तर्फबाट आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता जनाए।
बाढीपछि हजारौँ परिवार प्रभावित
गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोटलगायत नदी आसपासका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको थियो। बाढीका कारण घर तथा सडक, पुललगायतका पूर्वाधारमा क्षति पुगेको थियो।
सरकारको प्रारम्भिक तथ्यांकअनुसार विपद्का कारण करिब ७ हजार ५७० घरमा क्षति पुगेको र करिब ३२ हजार ९०० नागरिक प्रभावित भएका थिए। बाढीबाट प्रभावित परिवारको दैनिक जीवन सहज बनाउन खाद्यान्नलगायत आधारभूत सामग्रीको आवश्यकता अझै रहेको स्थानीय अधिकारीहरूले बताएका छन्।
परमेश्वरको मण्डलीका अनुसार पछिल्लो राहत सहयोग ‘Build Hope!’ अभियानअन्तर्गत गरिएको हो। जलवायुजन्य विपद्बाट प्रभावित समुदायलाई तत्काल राहत उपलब्ध गराउनुका साथै भविष्यमा विपद्को जोखिम घटाउने र समुदायको उत्थानशीलता बढाउने उद्देश्य अभियानले लिएको बताइएको छ।
मण्डलीका प्रतिनिधिले बाढीका कारण घर तथा जीवनयापनका आधार गुमाएका परिवारप्रति सहानुभूति व्यक्त गर्दै उपलब्ध गराइएको सहयोगले प्रभावितको दैनिक जीवनमा केही सहजता ल्याउने विश्वास व्यक्त गरे। आगामी दिनमा स्थानीय समुदाय तथा सम्बन्धित निकायसँग सहकार्य गर्दै आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता पनि उनले जनाए।
सामाजिक सेवामा निरन्तर सक्रियता
परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले नेपालमा विपद् राहतसँगै रक्तदान, वातावरण संरक्षण, सरसफाइ तथा पुनःस्थापनासम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
सन् २०१५ को विनाशकारी भूकम्पका बेला पनि मण्डलीले प्रभावित परिवारलाई खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री उपलब्ध गराउनुका साथै पुनःस्थापनाका विभिन्न काममा सहयोग गरेको बताइएको छ। भूकम्पबाट क्षतिग्रस्त विद्यालयको पुनर्निर्माणमा समेत सहयोग गरिएको मण्डलीको दाबी छ।
मण्डलीका अनुसार नेपालमा हालसम्म ७२ हजार ६८८ जनाको सहभागितामा १ हजार ८४ वटा सामाजिक सेवाका कार्यक्रम सञ्चालन भएका छन्। यस्ता गतिविधिका लागि बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय, बुढानीलकण्ठ नगरपालिका तथा नेपाल रेडक्रस सोसाइटीलगायत विभिन्न निकायबाट प्रशंसा तथा कदरपत्र प्राप्त भएको पनि मण्डलीले जनाएको छ।
वातावरण संरक्षण र समुदाय केन्द्रित सेवाअन्तर्गत भरतपुर, काठमाडौं, सुन्दरहरैंचा, नेपालगन्ज र वीरेन्द्रनगरलगायत विभिन्न स्थानमा सरसफाइ तथा अन्य सामाजिक कार्यक्रम सञ्चालन गरिएको मण्डलीको भनाइ छ।
रक्त अभाव न्यूनीकरण गर्ने उद्देश्यले नियमित रक्तदान कार्यक्रम पनि सञ्चालन हुँदै आएको छ। ‘निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम विश्वव्यापी रक्तदान कार्यक्रम’ अन्तर्गत नेपालमा हालसम्म ५४ वटा बृहत् रक्तदान कार्यक्रम आयोजना गरिएको मण्डलीले जनाएको छ।
विश्वका विभिन्न देशमा सामाजिक सेवा
परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको स्थापना सन् १९६४ मा दक्षिण कोरियामा भएको हो। मण्डलीका अनुसार अहिले विश्वका १७५ देशका ७ हजार ८०० भन्दा बढी क्षेत्रमा करिब ४० लाख विश्वासी आबद्ध छन्।
मण्डलीले सामाजिक सेवा, वातावरण संरक्षण, रक्तदान, विपद् व्यवस्थापन तथा मानवीय सहयोगका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। यस्ता सेवामूलक गतिविधिका लागि विभिन्न देशका सरकारी तथा गैरसरकारी निकायबाट ६ हजार २०० भन्दा बढी पुरस्कार तथा सम्मान प्राप्त भएको पनि मण्डलीको दाबी छ।
नुवाकोटमा गरिएको पछिल्लो खाद्यान्न सहयोगले बाढी प्रभावित परिवारलाई तत्काल आवश्यक पर्ने आधारभूत खाद्य सामग्रीको अभाव केही हदसम्म कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।


तपाईंको विचार लेख्नुहोस्
० कमेन्ट
Facebook प्रतिक्रिया