नेपालमा एक पछि अर्काे गर्दै गिनिज वल्ड रेकर्डमा नाम लेखाउने कार्य जारी रहेको छ । नेपालको मौलिक संस्कृतीलाई बिश्वसामु चिनाउनका लागी डिल बहादुर मगर (डिकेश) लगायत १२ जना कलाकारहरुले लगातार २७ घन्टा सामुहिक नृत्य गरेर गिनिज वल्ड रेकर्डमा नाम लेखाउने तयारी गरेका छन् । सो कार्यक्रममा नेपाली मौलिक गीत संगीतमा नेपाली भेषभुषामा नृत्य गर्ने कुरा आयोजक पक्षले जनाएको छ ।
गिनिज वल्ड रेकर्डमा नाम लेखाउनका लागी माघ १० गतेका दिन मारुनी मिडिया नेटवर्कको आयोजनामा रिपोर्टस् क्लव नेपालमा पत्रकार सम्मेलन कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा मारुनी मिडिया नेटवर्कका सञ्चालक डिल बहादुर मगर (डिकेश) को अध्यक्षता र चर्चित गायिका राधिका हमालको प्रमुख आतिथ्यता रहेको थियो ।
सञ्चारकर्मी राजकुमार रायमाझीको सञ्चालन रहेको कार्यक्रममा समाजसेबी ब्यक्तित्व कृष्ण घले, हरी चन्द्र लामा बिशेष अतिथीको रुपमा रहेका थिए । यस कार्यक्रममा मिडिया संयोजकको रुपमा पत्रकार प्रकाश बराईली “अभिब्यक्ती” रहेका थिए । सामुहिक नृत्यमा बिश्व रेकर्ड राख्नेमा यस अघि सन् २०११ अक्टोबर ३१ मा अमेरिकाको एम. टि.भि.ओ. म्युजिक अवार्डको नाममा १३ जना युवा युवतीले लगातार २४ घन्टा १ मिनेट सामुहिक नृत्य गरेर बिश्वकै सबैभन्दा लामो सामुहिक नृत्यको बिश्व रेकर्ड राखेका थिए ।
यस गिनिज वल्ड रेकर्डमा भाग लिनेहरु डिल बहादुर मगर (डिकेश), केशर बहादुर पुर्जा, शान्ता तिलिजा, सरला तिलिजा, शिक्षा गर्बुजा, अंशु गर्बुजा, चन्द्र माया गुरुङ, जस्टिना श्रीस, सुस्मिता गुरुङ, शान्ती शाही, यमुना रोका, सञ्जु पुन, राजीन पुन आदी रहेका छन् । यस कार्यक्रमलाई गिनिज ईभेन्ट नेपालले ब्यवस्थापन गरेको छ । गिनिज ईभेन्ट नेपालका संस्थापक अध्यक्ष सन्तोष लामाले यस कार्यक्रम सफल बनाउन पत्रकारहरुको ठुलो हात रहने कुरा ब्यक्त गर्दै आगामी कार्यक्रममा सहयोग गरिदिन समेत अनुरोध गरेका छन् । गिनिज वल्ड रेकर्डको कार्यक्रम फागुन २२ गते आयोजना हुने कुरा आयोजक पक्षले जनाएको छ ।