
काठमाडौं। जातीय विभेद, छुवाछूत र धार्मिक अन्धविश्वासका कारण आज पनि नेपाली समाजमा धेरैले दुःख पिडा भोग्नुपरेको यथार्थ बोकेको ‘पापी मान्छे’ म्युजिकल फिल्म हालै सार्वजनिक गरिएको छ। भरत उदासी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यो म्युजिकल फिल्म जातीय विभेद अन्त्य गर्ने उद्देश्यका साथ तयार पारिएको हो।
सार्वजनिक गीतको भिडियो चलचित्र विकास बोर्डमा विशेष समारोहबीच बिमोचन तथा प्रदर्शन गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि विश्वभक्त दुलाल, विशेष अतिथि मित्र परियार र खगेन्द्र सुनारसहित ५०० भन्दा बढी दर्शकको उपस्थिति थियो।
भरत उदासीको शब्द तथा संगीतमा निर्माण भएको गीतमा चर्चित गायक प्रमोद खरेलको सशक्त स्वर रहेको छ। संगीत संयोजन विशाल निरौलाले गरेका छन् भने रेकर्डिङ सुमन राना र खुमन रानाले गरेका हुन्। ध्वनि मिश्रण कुमार रानाले, रेकर्डिङ मारुनी डिजिटल स्टुडियोमा गरिएको हो। गीतमा सारङ्गी हेमन्त कान्छा रसाइली र बाँसुरी रत्न विकले भरेका छन्। कोरसमा रञ्जिता विश्वकर्मा, निर्मला नेपाली, सुरज बुढाथोकी र विश्वास खपाङ्गी मगरको स्वर समावेश गरिएको छ।
फिल्ममा वरिष्ठ कलाकार सुशील पोखरेल, किशोर भण्डारी, रोहित कार्की, पुष्प खड्का, आयुष्मा कार्की, देब महर्जन, भरत उदासी, सरिता भण्डारी लगायतको उत्कृष्ट अभिनय देख्न सकिन्छ। बालकलाकार राजेन्द्र शाहशंकरको समेत अभिनय समावेश छ।
छायांकन रामकृष्ण कंडेलले गरेका हुन् भने मेकअप मोहन लामा र डि.के. हमालले गरेका हुन्। ड्रोन छायांकन कृष्ण आले मगरले, सह–छायांकन उमेश शाहले र फोकस पुलर नवीन ओलीले गरेका छन्। सम्पादन कल्पेश विश्वकर्माले गरेका हुन् भने पृष्ठभूमि संगीत पुष्कर खत्रीले र डबिङ रञ्जन राईले गरेका हुन्।
ओखलढुंगाको लिखु गाउँपालिका, रामेछापको साघुटार, काठमाडौंको गोकर्णेश्वर, बौद्ध, चाबहिल, जमल, भक्तपुरको नीलबाराही मन्दिर लगायत विभिन्न स्थानमा छायांकन गरिएको यो म्युजिकल फिल्मलाई खमेश श्रेष्ठले निर्देशन गरेका हुन्।
गीत छोटो भए पनि मर्मस्पर्शी कथा बोकेको हुँदा करिब १ घण्टाको म्युजिकल फिल्मको रूपमा तयार पारिएको निर्देशक श्रेष्ठले जानकारी दिए। कथावस्तु कुनै कल्पना नभई जातीय विभेदका कारण भोगिएका यथार्थ घटनामा आधारित रहेको निर्माता भरत उदासीले बताए।