काठमाडौँ । कोरोना सङ्क्रमतिको ग्राफ उकालो लागेपछि नेपाली काँग्रेसमा १४ औँ महाधिवेशनको माहोल सेलाएको छ । २२ असारको केन्द्रीय कार्यसमिति बैठकको निर्णयपछि काँग्रेसमा महाधिवेशनको सरगर्मी बढेको थियो । उक्त बैठकले पार्टी संरचना समायोजन देखि क्रियाशील सदस्यता वितरण र पार्टीका तल्ला तहका सबै संरचनाको अधिवेशनको मिति हेरफेर गरेको थियो ।
कोरोनाको बढ्दो सङ्क्रमणलाई मध्यनजर गरी शुक्रबारसम्म काठमाडौँ उपत्यकासहित करिब २ दर्जन जिल्लामा निषेधाज्ञा जारी गरेपछि परिमार्जित कार्यतालिकाको प्रारम्भिक काम नै ब्रेक लागेको छ । यता १० साउनभित्र सकिनुपर्ने पार्टीको अन्तरिम संरचनाको समायोजनको काम पनि काँग्रेसले अझै सकेको छैन । काँग्रेस पार्टी कार्यालयका अनुसार ६५ जिल्लामा समायोजनको काम सकिएको छ ।
अझै १२ जिल्लामा अन्तरिम संरचना समायोजन गर्न बाँकी छ । प्रदेश २ का ८ जिल्लामा सबैभन्दा धेरै विवाद छ । यस्तै काभ्रे, सिन्धुपाल्चोक, मुस्ताङ र सोलुखुम्बुमा समेत समायोजनमा विवाद छ । उक्त जिल्लाहरुमा संस्थापन र इतर समूहको विवादले निर्वाचन समितिले सङ्गठन समायोजन गर्न सकेको छैन ।
साथै केही जिल्लाका केही वडा र केही स्थानीय तहमा समायोजन नसकिँदा समायोजनको काम अड्किएको बुझिएको छ । तर काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले कोरोना सङ्क्रमणकै कारण पार्टीको अन्तरिम संरचना समायोजनको काममा ढिलाइ भएको दाबी गरे ।‘ धेरै जिल्लामा समायोजनको काम सकिएको छ । केहीमा एउटा वडाको मात्रै बाँकी रहँदा पनि अड्किएको अवस्था छ । केही जिल्लामा कोरोनाका कारण निषेधाज्ञा जारी भएपछि काम रोकिएको छ,’ पौडेलले भने । यता क्रियाशील सदस्यता वितरण र नवीकरणको मितिसमेत प्रभावित भएको छ ।
काँग्रेसले समायोजन हुन बाँकी रहेका जिल्लाहरुमा क्रियाशील सदस्यता वितरण र नवीकरणको काम जारी रहेको जनाएको छ ।
काँग्रेसले त्यसका लगि २५ असारदेखि साउन मसान्तसम्मको समय तोकेको थियो । काँग्रेसले भदौभित्र अन्तिम नामावली केन्द्रीय निर्वाचन समितिमा पठाइसक्न सबै जिल्लालाई निर्देशन दिएको छ । क्रियाशील सदस्यता वितरण र नवीकरणको प्रगति विवरण भने केन्द्रीय कार्यालयमा पुगेको छैन ।
यसरी आएका क्रियाशील सदस्यका नाममा असोज मसान्तभित्र उजुरी गर्न र कात्तिक मसान्तभित्र क्रियाशील सदस्यतामाथि पुनरावेदन दिन भनिएको छ । तर अहिलेसम्म छानबिन समितिसमेत बनेको छैन । यसअघि काँग्रेसले महाधिवेशनका लागि यसअघि सार्वजनिक गरेका क्रियाशील सदस्यता वितरण, सदस्यताको नवीकरण र छानबिनको प्रक्रिया कोरोना सङ्क्रमणकै कारण प्रभावित भएको थियो ।
केही दिनअघि मात्रै काँग्रेसले क्रियाशील सदस्यताको माग बढेको भन्दै शतप्रतिशत सदस्यता वितरण बढाउने निर्णय गरेको थियो । जसअनुसार काँग्रेसले हाल कायम रहेको करिब ५ लाख क्रियाशील सदस्यतालाई दोब्बर बनाउने नीति लिएको छ । शतप्रतिशत क्रियाशील सदस्यताका सम्बन्धमा सर्कुलर गइसकेको महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए । कतिपय जिल्लाले सदस्यता फारमसमेत लगिसेको उनको भनाइ छ । तर केन्द्रीय कार्यसमिति बैठक राखेर अनुमोदन गर्न बाँकी छ ।
यता संरचना समायोजन र क्रियाशील सदस्यता वितरणको तालिका प्रभावित भएसँगै काँग्रेसका लागि फेरि नयाँ कार्यतालिका ल्याउनुपर्ने बाध्यता देखिएको छ । काँग्रेस विधानअनुसार केन्द्रदेखि बुथ तहसम्म आठ तह छन् । काँग्रेसले वडा, पालिका तह, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म गरी आठ तहको नेतृत्व छनोट गर्नुपर्नेछ । त्यसका लागि ६ पुसमा वडा अधिवेशन, ८ पुसमा ७ सय ५१ स्थानीय तहको अधिवेशन, ११ पुसमा प्रदेशसभा र प्रतिनिधि सभाको एक निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन १३ पुसमा गर्ने निर्णय काँग्रेसले गरेको छ । यस्तै एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन १६ पुसमा र सातै प्रदेशको अधिवेशन ६ माघमा गरिसक्ने निर्णय काँग्रेस केन्द्रीय समिति बैठकले गरेको छ । काँग्रेसले पार्टीको १४औँ महाधिवेशन आगामी ७ देखि १० फागुनसम्म काठमाडौँमा गर्ने निर्णय गरिसकेको छ ।
तर सुरुवाती कार्यतालिका कोरोनाका कारण प्रभावित भएपछि महाधिवेशनको मितिसमेत सर्ने काँग्रेसमा अट्कलबाजी सुरु भएको छ । शीर्ष नेताहरुबीच जेठ वा भदौमा महाधिवेशन सार्ने भन्ने विषयमा छलफल भएको भनिए पनि महामन्त्री खड्काले त्यसलाई अस्वीकार गरे । सभापति शेरबहादुर देउवा निकट उनले भने, ‘अहिले हामी भदौमा छौँ । अधिवेशन सुरु हुन ३/४ महिना बाँकी छ । अहिले नै महाधिवेशनको मितिबारे कुनै छलफल भएको छैन । पुसबाट अधिवेशन सुरु हुने कुरामा भदौमा केको छलफल हुन्छ ?,’ र क्रियाशील सदस्यता वितरणको तालिकाबारे भने छलफल भइरहेको उनको भनाइ छ । उनले भने, ‘काँग्रेसको प्रारम्भिक मतदाता नामावली क्रियाशील सदस्यता हो । हामी त्यसको छलफल र तयारीमा छौँ ।’ तर नेता कृष्णप्रसाद सिटौला भने तोकिएको मितिमा महाधिवेशन हुन नसक्ने बताउँछन् ।
‘क्रियाशील सदस्यको नामावली मङ्सिरभित्र जिल्लामा पुग्ने मैले देखिरहेको छैन । साउन महिनामै क्रियाशील सदस्यता र नवीकरण सक्ने गरी कार्यतालिका बनेको छ,’ सिटौलाले भने, ‘यो नै प्रभावित भइसकेपछि त आगामी सबै कार्यतालिका प्रभावित हुनेछ नै । जिल्ला अधिवेशन पुसबाट सर्ने अवस्था स्वतः बनिसकेको छ । त्यसले फागुनमा महाधिवेशन गर्न सकिँदैन कि लाग्छ ।’
फागुनमा महाधिवेशन गर्ने परिस्थिति निर्माण नभए पनि वैशाख वा जेठमा महाधिवेशन गर्न सकिने उनको तर्क छ । सिटौलाको धारणालाई महामन्त्री खड्काले कोरोना महामारीबाट सिर्जित अनुमानको संज्ञा दिए । उनले भने, ‘कोरोना महाकारीका कारण अनुमानका आधारमा नेताहरुका धारणा आएका होलान् । महाधिवेशनको मिति सार्ने नसार्नेबारे केही छलफल भएको छैन ।’ यता वरिष्ठ नेता रामचन्द्र पौडेले पनि महाधिवेशन घोषित मितिमै गर्न सकिने दाबी गरे ।
उनले भने, ‘कोरोना महामारीले गर्दा तत्काललाई अप्ठ्यारो छ । तर सङ्क्रमणको दर घटेर गएपछि सङ्गठनले बाँकी काम अघि बढाउनुपर्छ । क्रियाशील सदस्यताको टुङ्गो लागेपछि एक महिनाभित्र चुनावको काम गर्न सकिन्छ । चार–पाँच दिनको अन्तर राखेर सबै तहको अधिवेशन गर्न सकिन्छ । सबै जुटेर बाँकी महिनाको सदुपयोग गर्ने हो भने महाधिवेशन घोषित मितिमै गर्न सकिन्छ ।’ पौडेलका अनुसार कात्तिकसम्म सदस्यताको टुङ्गो लगाए पनि मङ्सिर–पुससम्म तल्लो तहको अधिवेशन सकिन्छ ।उनले भने, ‘अहिले महाधिवेशन सार्नुपर्ने बेला आइसकेको छैन । यसबारे कुनै छलफल पनि भएको छैन ।’